ठुलो वातावरणीय समस्याको रुपमा देखा पर्दै वायु प्रदुषण ; कसरी कम गर्न सकिन्छ यसको प्रभाव ?
काठमाडौं— बिश्व स्वास्थ्य दिवसको अवसर पारी २०७९ चैत्र २४ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुल ढोका अगाडी वायु प्रदुषणको अवस्था तथा हावाको स्वच्छता जाँच गर्ने उद्येश्यसहित एउटा कृत्रिम फोक्सो जडान गरियो । तर उक्त कृत्रिम फोक्सो १५ दिनमै कालो भएपछि निकालियो । यसले वायु प्रदुषणको चपेटावाट नेपाल पनि अछुतो रहन नसकेको स्पष्ट पारेको छ । १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई नजिकवाट नियाल्न सकिन्छ ।
नेपालमा वायु प्रदुषणवारे जनचेतना जगाउनका लागी सरकारी तथा गैरसरकारी तवरवाट पहल तथा प्रयासहरु भैरहेका छन् । तर पनि वायु प्रदुषण भनेको के हो? यो के कारणले हुन्छ ? मानव स्वास्थ्यमा यसले कस्तो असर पार्दछ? र यसवाट जोगिन के गर्नुपर्छ भन्ने बिषयमा भने आम जनमानसमा प्रयाप्त जानकारी भएको पाइदैन् ।
वातावरणीय पत्रकारिताको क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको संस्था नेपाल वातावरण पत्रकार समुहले वातावरणीय जनस्वास्थ्य सस्ंथा इन्फोसंगको सहकार्यमा गत वर्ष विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई वातावरणीय पत्रकारिता सम्वन्धी दक्षतावृद्धि तालिम तथा गोष्ठीहरुको आयोजना गरेको थियो । सोही तालिम तथा गोष्ठीहरुको समिक्षात्मक भेटघाट कार्यक्रमको रुपमा गत मंगलवार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा जलवायु परिवर्तनका कारण विश्वब्यापि रुपमै उत्पन्न भएका वायु प्रंदुषणजस्ता गम्भीर समस्या र तिनले नागरिक स्वास्थ्यमा पारिरहेको नकारात्मक असरलाई नजरअन्दाज गर्न नसकिनेबारे छलफल गरियो ।
कार्यक्रममा वातावरणीय समस्याहरुप्रति सर्वसाधारण, नागरिक तथा सरकारहरुको चासो र चेतना जगाउनु पत्रकारहरुको दायित्व भएको कुरा समेत उठेको थियो ।
वायु प्रदुषण भनेको के हो? र यसले मानिसको स्वास्थ्यमा कस्तो असर पार्दछ ?
हाम्रो वरपर रहेको वायुमा कुनै प्रकारको प्रदूषित पदार्थहरु धुलो–धुँवा, गन्ध, रासायनीक पोर्ण, विषादी आदिको मिश्रण भइ मानव स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालको वायु हुनुलाई लाई नै वायु प्रदूषण भनिन्छ । मानिसको नाकको रौं, सिगान र सिलिया भनिने कोशिकाहरुको धुवाँ धुलोलाई रोकेर हाम्रो फोक्सोलाई सुरक्षित राख्न मद्यत गर्दछ । तर पार्टिकुलेट म्याटर पिएम २.५ भनिने सुक्ष्म कणहरु मानिसको कपालभन्दा २० गुणा सानो हुन्छ, तिनले हाम्रो फोक्सोको प्राकृतिक प्रतिरक्षा संयत्रलाई छलेर फोक्सोसहित रक्तनलिहरुमा पनि असर पुर्याउने गर्दछ । यसले दिर्घकालीन फोक्सोको रोग, फोक्सोको क्यान्सर, तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण तथा दमसंगै अन्य रोगहरुको अस्पताल भर्ना हुने क्रम बढ्ने गर्दछ ।
कस्तो छ त बिश्वमा वायु प्रदुषणको प्रभाव?
वायु प्रदुषणलाई बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमुख वातावरणीय जोखिमको रुपमा परिभाषित गरेको छ । यस्तै डब्लुएचओले वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक समेत सार्वजनिक गरेको छ ।
यता संयुक्त राष्ट्र संघले पनि हरेक १० जनामध्ये ९ जनाले प्रदूषित हावामा सास फेर्ने भएकाले मृत्युको एक नम्बर कारक वायु प्रदूषणलाइ नै मानेको छ ।
नेपालमा वायु प्रदुषणको प्रभाव ।
वायु प्रदुषण विश्वका लागी संगै नेपालको लागि पनि ठुलो वातावरणीय समस्याको रुपमा देखा परेको छ । नेपालमा पनि वायु प्रदुषणकै कारण बर्षेनी हजारौ मानिसले ज्यान गुमाउदै आएका छन् । स्टेट अफ ग्लोबल एयर २०२० ले सन् २०१९ मा नेपालमा मात्र वायु प्रदुषणका कारण ४२ हजार १ सय मानिसको मृत्यु भएको अनुमान गरेको थियो ।
यता वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण बर्सेनि ३५ हजारको ज्यान जाने गरेको विवरण डब्लुएचओको रहेको छ । नेपालमा मृत्युको सबैभन्दा ठुलो कारण फोक्सोको रोग पनि हो ।
यस्तै नेपालमा फोक्सोको रोगबाट हुने मृत्युमध्ये ६६ प्रतिशत रोग वायु प्रदुषणका कारण लाग्ने गर्दछ । यस्तै नेपालमा मानिसहरुको मृत्यु हुने चौथो ठुलो कारणहरुमध्ये तल्लो श्वासप्रश्वास प्रर्णालीमा हुने संक्रमण हो । यो रोगवाट हुने मृत्यु मध्ये ३४ प्रतिशत वायु प्रदुषणकै कारणवाट हुने गर्दछ । यस्तै वायु प्रदुषण उच्च भएकै कारण दमका पिडितहरुको अस्पताल भर्ना हुने क्रम पनि बढ्ने गरेको युएसएड स्वच्छ हावा परियोजनाले देखाएको छ जनाएको छ ।
काठमाडौं उपत्यका वायु प्रदुषणको बढी जोखिममा
नेपालका अन्य सहरहरुभन्दा काठमाडौं उपत्यका वायु प्रदुषणको बढी जोखिममा रहेको बिश्लेषण गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओका) अनुसार काठमाडौ उपत्यकाको वायुमा पी.एम. २.५ को वार्षिक औसत मात्रा डब्लुएचओको निर्दिष्ट मान्यता भन्दा १० गुणा बढी रहेको छ । नेपालको राजधानि सहर काठमाडौं उपत्यकाको भु–बनोट कचौरा आकारको भएको र यहाँको द्रत सहरीकरणको कारण नेपालका अन्य सहरभन्दा काठमाण्डौं उपत्यका वायु प्रदुषणको जोखिममा रहेको वातावरणबिद् भुषण तुलाधरले बताए ।
नेपालमा वायु प्रदुषण बढ्नुका मुख्य कारणहरु के हुन् ?
नेपालमा वायु प्रदुषण बढाउने धरै कारणहरु छन् । नेपालको जनगणना २०७८ का अनुसार नेपालमा करिब ५४ प्रतिशत घरपरिवारले दाउरा गोबर र गुईठाजस्ता परम्परागत उर्जाका श्रोतवाट खाना पकाउने गर्दछन् । दाउरा र गुईठा वाट खाना पकाउदा धुवा निस्कन्छ । यसरी निस्कने धुवाका कारण अर्थात परम्परागत उर्जाका कारण पनि वायु प्रदुषण हुने गर्दछ ।
नेपालमा वायु प्रदूषणको मुख्य कारणमा सवारी साधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कल कारखानाबाट हुने उत्सर्जन, जंगलमा लाग्ने डढेलोको साथै घर, रेष्टुरेन्ट तथा होटल व्यवसायबाट हुने उत्सर्जन र उर्जाका रुपमा काठ, दाउरा, कोइला, ब्रिकेटको आदिको प्रयोग रहेको बातावरणबिद्हरुको भनाइ रहेको छ ।
वायु प्रदुषणको समस्या कसरी कम गर्न सकिन्छ त ?
वातावरणमैत्री सवारी साधनको प्रयोगः केही वर्ष अगाडी भारत सरकारले पेट्रोल तथा डिजेलका कारवाट बिद्युतीय कारमा जान चाहने ग्राहककालागि प्रतिब्यक्ति २ लाख ५० हजार भारतीय रुपैया इन्सेटिभ पाउने ब्यवस्था गरेको थियो । योसंगै बिद्युतीय सवारी उत्पादकले मात्र नभइ त्यसमा लाग्ने स्पेयर पार्टस उत्पादक सहित दुई पाङ्ग्रे सवारी साधनको खरिदमा समेत ठुलो छुटको ब्यवस्था गरेको थियो ।
भारत सरकारको यो ब्यवस्थाले वातावरणमैत्री सवारीसाधन अर्थात बिद्युतीय सवारी साधनलाई प्रोत्साहन गरेको देखिन्छ । पछिल्लो समय बढीरहेको सहरीकरणसंगै यातायातका साधनहरुले पनि वायु प्रदुषण बढ्नमा योगदान दिइरहेका छन् । बढ्दो वायु प्रदुषणलाई रोक्न वातावरणमैत्रि सवारी साधनमा जोड दिनुपर्दछ ।
वायु प्रदुषण न्युनिकरणका लागी आवाज उठाऔंः वायु प्रदुषणको समस्या बिश्वब्यापि र सबैको लागि जोखिमपुर्ण नै रहेकोले यसको समाधानका लागि सबैले आ–आफ्नो क्षेत्रवाट पहल गर्नुपर्ने देखिन्छ । यसको लागी सरकार, सरोकारवाला निकाय, नागरिक समाज, वायु प्रदुषणवारे सचेत हुने र गराउने तथा वायु प्रदुषण न्युनिकरणका लागि आवाज उठाउनुपर्दछ ।
विद्युतीय चुलोको प्रयोगमा जोडः परम्परागत उर्जाको स्रोतका कारण पनि वायु प्रदुषण बढी हुने गरेको देखिन्छ । ग्रामीण क्षेत्रहरु खाना पकाउने ऊर्जाका लागि दाउरा, कृषिजन्य वस्तु, गुइँठा आदि जैविक (जीवाष्म) इन्धनमा निर्भर हुँदा स्वास्थ्य, वातावरण र राष्ट्रिय अर्थतन्त्रमै नोक्सानी भइरहेको सन्दर्भमा खाना पकाउनको लागि विद्युतीय चुल्होको प्रयोगमा जोड दिएर पनि वायु प्रदुषण कम गर्न सकिन्छ ।
फोहर तथा पातपतिङगर नबाल्नेः फोहमैलाले सबै ठाँउलाई असर पार्दछ । सहरी वातावरण आएको फोहरमैला ब्यवस्थापन चुनौतीको बिषय बनेको छ । फोहरमैला बाल्नुको सट्टा फोहरमैलालाइ श्रोतमै बर्गीकरण गरेर पुनः प्रयोग तथा पुनः चक्रिय प्रयोगमा लैजानु उपर्युक्त हुनसक्छ । जसले गर्दा पछिल्लो समय डरलाग्दो रुपमा फैलिरहेको वायु प्रदुषणको समस्या केही हदसम्म भएपनि कम हुनसक्छ ।
के गरिहेको छ त सरकार वायु प्रदुषण न्युनिकरणको लागि
जलवायु परिवर्तनका कारण समग्र पर्यावरणीय परिचक्र बिथोलिरहेको छ । ठूला देशहरूले उत्सर्जन गर्ने कार्बनका कारण विश्वभरि बढिरहेको तापमान र त्यसको असरबाट हुने जलवायु परिवर्तनका कारण ठूला प्राकृतिक विपत्तिहरूको सामना हामी सबैले गरिरहनु परेको छ । नेपालजस्ता विकासोन्मुख देशहरूले ठूला देशका कारण जलवायु परिवर्तनका असरहरूसँग जुध्न परिरहेको छ । नेपालले पनि वायु प्रदुषण न्युकिरणका लागि बिभिन्न योजना तथा कार्यक्रम लागु गरिरहेको छ तरपनि अपेक्षित परिणाम भने प्राप्त गर्न सकेको छैन् ।
नेपालको संविधानको धारा ३० मा हरेक नागरिकले सफा र स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ब्यवस्था गरेको छ । यस्तै राष्ट्रिय वातावरण नीति, २०७६ ले प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी वायु गुणस्तर अनुगमन प्रणालीको विकास, मापदण्ड तर्जुमा तथा कार्यान्वयन, विद्युतीय सवारीसाधनको प्रयोग लगायतमा जोड दिएको छ, भने वातावरण संरक्षण ऐन, २०७६ ले कसैले पनि मापदण्ड विपरीत प्रदूषण गर्न नपाउने ब्यवस्था गरेको छ ।
यस्तै नेपाल सरकारले वायु प्रदूषण न्युनीकरणका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ लागु गरिसकेको छ । यस्तै सरकारले आर्थिक वर्ष २०७६÷७७ देखि आव २०८०÷८१ सम्म विद्युतीय सवारी साधनको संवद्र्धनलाई अभियानात्मक रूपमा अगाडि बढाउने लक्ष्यका साथ जलविद्युत क्षेत्रको नीति तय गरेको छ ।
यस्तै नेपाल सरकारले सन् २०३० सम्म सम्पूर्ण परम्परागत ऊर्जा र आयातीत इन्धनको खपतलाई न्यून गरी स्वच्छ भान्छाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ । मापदण्डभन्दा बढी धुवाँ निकाल्ने सवारी साधनलाई जाँच गरेर तत्कालै रातो स्टीकर लगाउने काम पनि सरकारले गरिरहेको छ ।
Comments
Post a Comment